किन लाग्छ दाँतमा किरा ? यसरी गर्नुहाेस् बालबालिकाको दाँतको सुरक्षा

आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अनुपात गाउँको दाँजोमा सहरी क्षेत्रका बालबालिकामा झण्डै दोब्बर छ ।

सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत किराले खाएको छ । नेपालमा गरिएका दन्त स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनलाई औल्याउँने हो भने औसतमा नेपालका ५५ देखि ६० प्रतिसतसम्म बालबालिकाको दाँत किराले खाएको छ । दन्तरोग विशेषज्ञहरूका अनुसार, दाँत सड्दा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो । बोलिचालिको भाषामा यसलाई दाँतमा किरा लाग्नु वा दाँत किराले खानुसमेत भनिन्छ ।

दाँतमा भएको सूक्ष्म प्वाललाई उपचार नगरी छोड्दा त्यहाँ भोजनका कणहरू जम्मा हुन थाल्छन् । धेरैजसो रोगीलाई खाना दाँतमा टाँस्सिने समस्या हुन्छ । प्वाल (क्याभिटी)लाई उपचार नगर्दा, अझ संवेदनशीलता बढेपछि रोगीको दाँतसमेत दुख्न थाल्छ । प्वाल जरोसम्म पुग्नाले र गहिरो हुनाले अमिलो, चिसो पानी, न्यानो पदार्थ, पिउँदा वा चपाउँदा पीडा सुरु हुन्छ ।

यदी दाँतमा कालो खैरो दाग छ र दाँत दुख्छ भने दाँतमा किरा लागेको हुन सक्छ । यस्तो बेला दन्त चिकित्सकको सल्लाह लिनुपर्छ । हाम्रो मुलुकमा बालबालिकाको दाँत किराले खाने समस्या दन्त स्वास्थ्यमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा गिजाको समस्या देखिएको छ । गिजाको समस्याचाहिँ वयस्कहरूमा बढी हुन्छ ।

यसकारण लाग्छ दाँतमा किरा

विश्व स्वास्थ्य संगठनका अनुसार, औद्योगिक राष्ट्रहरूका ७० देखि ९५ प्रतिशतसम्म बाल- बालिकाको दाँतमा किरा लाग्ने गरेको छ ।

१२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याइएको छ । खानपानमा जागरणको अभाव, बालबालिकालाई दुध चुसाउने शैली, दूध पिएपछि मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।

खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ । यदी धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा किरा लाग्नु हो ।

दाँतमा किरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग गर्नु नै हो । बालबालिकामा दाँत सड्ने समस्याको मुख्य कारण पाउरोटी, बिस्कुट आदिको सेवन र अत्यधिक गुलिया खाद्यहरु चक्लेट मिठाइ आदि रहेको छ ।

पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी प्रयोगले किरा लाग्ने समस्या बढ्दो छ ।

दाँतमा किरा लाग्नबाट कसरी रोक्ने ?

दाँतमा किरा लाग्न नदिन बचाउका केही उपाएहरु अत्यन्त महत्त्वपूर्ण रहेको दन्तरोग बिशेषज्ञहरू बताउँछन् । बालबालिकालाई उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५० देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ । राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने डाक्टरहरू सुझाउँछन् । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।

$ads={2}

बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ । दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।

प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ । नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ । बालबालिकाको दाँत मुखमा टुसाउने बित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।

दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई/चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ । दूधे दाँत देखि नै मुख स्वास्थ्यमा विचार पुर्‍याउनुपर्छ । बालबालिकालाई छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट