मधुमेह रोगलाई च्वाट्टै पार्ने यी जडीबुटीहरू

आज संसारभर लगभग ४५ करोड मान्छेहरू मधुमेहको रोगबाट ग्रसित छन् भने प्रत्येक वर्ष १६ लाख मान्छेहरू यो रोगसँग प्रत्यक्ष सम्बन्धित भएर मारिन्छन् । यसैगरी संसारभरका मधुमेह रोगीहरूले यो रोगको प्रतिकार गर्नमा खर्च गर्ने गर्छ । सन् २०१९ मा ७६० विलियन अमेरिकी डलर अथवा ९०१.२४८२ खर्ब रूपैयाँ बराबर छ ।


यो रोग लागेपश्चात तत्काल ज्यान गई नहाले पनि अन्य ज्यानमारा रोगहरू जस्तै हृदयघात, मष्तिसकघात, मृगौलाघात, दृष्टिघात, खुट्टा काट्नुपर्ने स्थितिलाई जन्माउन सहयोग गर्ने हुँदा यो रोग खतरनाक रोग हो । यसैगरी रोग लागेपछि आजीवन समस्याको रूपमा रहिरहने भएकाले पनि यो रोगलाई ख्याल–ख्याल मालिनु हुँदैन ।

रोग नियन्त्रणका लागि रासायनिक–औषधि, इन्सुलिनथेरापि, जीवनशैली परिवर्तन र प्राकृतिक जडीबुटीहरूको सेवन गरेर चार प्रकारका चिकित्सा पद्धतिहरू प्रचलित छन् । 

तर रासायनिक औषधि र इन्सुलिन थेरापीको धेरै पाश्र्व प्रभाव पनि भएको हुनाले यो रोगको उपचार प्राकृतिक जडीबुटी र जीवनशैली परिवर्तनद्वारा गर्न खोजिँदै गइएको छ र हाम्रो पहिलो रोजाइ पनि रासायनिक औषधि र इन्सुलिन नभएर प्राकृतिक जडीबुटी नै हुनुपर्छ । यसै परिपेक्षमा निम्नलिखित प्राकृतिक जडीबुटीहरूको प्रयोगद्वारा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

१. चुत्रो

चुत्रोमा बार्बेरिन नामको कम्पाउन्ड पाइन्छ । बार्बेरिनले कोलेस्टेरोल कम गर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन् । यसका अलावा बार्बेरिनले रक्तग्लुकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ ।

२. बेसार

बेसारको सेवनले शरीरमा मधुमेहको क्रममा हुने अनेकौं प्रदाहात्मक क्रियाहरू कम गरिदिन्छ । यसैगरी कुर्कुमिनको सेवनले इन्सुलिन प्रतिरोधकता कम गरेको, इन्सुलिन समवेदनशीलता बढाएको, इन्सुलिन उत्पादन गर्ने कोषहरूको कार्य सुधारेको र पूर्वमधुमेहीहरूलाई समेत ठीक गरेको तथ्य प्रकाशमा आएका छन् ।

३. दालचिनी

हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग गरिने दालचिनी वा सिन्कौलीको बोक्रा आफँैमा एउटा सुपरफुड हो । दालचिनीमा प्रचुर मात्रामा एण्टि–अक्सिडेन्ट छ जसले अक्सिडेटिभ स्ट्रेस कम गरेर रक्तग्लुकोज कम गर्छ । वैज्ञानिकहरू दालचिनीमा इन्सुलिनले जस्तै काम गर्ने तत्व भएको मान्छन् ।

दालचिनीको सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खानापछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी. तीनैको रक्तस्तर कम गरेको तथ्य प्रकाशित भइसकेका छन् । यसैगरी दालचिनीको नियमित सेवनले मधुमेहका सामान्य समस्याहरू पनि कम भएको पाइएको छ । दिनको २ देखि ३ ग्राम दालचिनी नियमित सेवन गर्नाले मधुमेह नियन्त्रण गर्न ठूलो भूमिका निर्वाह गर्छ ।

४. तीते–करेला

तीते–करेलामा च्यारिन्टिन, भिसिन, लेक्टिन ए जस्ता औषधीय तत्वहरू छन् । चेरिन्टिनले रक्तग्लुकोज कम गर्छ भने भिसिन, लेक्टिन र पोलिपेप्टाइड पीले इन्सुलिनले जस्तै कार्य गर्छ ।

५. मेथी

मेथी पनि मधुमेहको राम्रो औषधि हो । यसमा प्रशस्त घुलनशील रेशाहरू छन्् । यी रेशाहरू आन्द्रामा पुगेर पानीमा घुलिँदा बनेको लेदोले कार्बोहाइड्रेट्सको पाचन र अवशोषण दुवैलाई सुस्त बनाइदिन्छ । रेशाका अलावा मेथीमा प्रशस्त मात्रामा भिटामिन, मिनिरल र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । मधुमेह भएकाहरूले ५ ग्राम वा एक चिया चम्चा मेथीको धुलो मोहीमा हालेर खाए राम्रो । यसको अलावा मेथीलाई उमारेर पनि खान सकिन्छ ।

६. घ्युु–कुुमारी

घ्युु–कुुमारीको रस पिएर रक्तग्लुकोज कम गर्ने चलन पुरानो हो । यसमा ७५ प्रकारका सक्रियतत्वहरू पाइन्छ । यसको सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खानापछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी.को स्तरलाई घटाउँछ । दैनिक १ चम्चा घिउकुुमारीको गुदी बिहान खाँदा मधुमेह कम गर्न मद्दत गर्छ ।

७. विजय–साल

विजय–सालको पानी पिउँदा हाड जोर्नीहरूको दुखाइ कम हुने, तौल घट्ने, रक्त शुद्घीकरण हुने आदि कथनहरू प्रचलनमा छन् । तर विजयसालको बोक्राको पानी उमालेर पिउँदा मधुमेह पनि कम हुन्छ । विजयसालको बोक्राको काँडा दिनको २ चोटि खाँदा राम्रो गर्छ ।

८. लसुन

लसुनमा शरीरलाई फाइदा पु¥याउने ४०० भन्दा धेरै तत्वहरू छन् । रक्तग्लूकोजलाई कमगर्नुका अलावा लसूनले कोलेस्टेरोल कम गर्ने र रगत पातलो पार्ने काम गर्छ । यसले पनि मधुमेहको जटिलता घटाउँछ । दैनिक १५ ग्राम लसुुन खाँदा मधुमेहमा राम्रो प्रभाव पर्छ ।

९. सिस्नु

सिस्नु पनि बहुउपयोगी जडीबुटी हो । सिस्नुको नियमित सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खानापछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी.को स्तरलाई राम्ररी घटाउँछ र यसरी सुगर नियन्त्रण हुनुमा सिस्नुमा विद्यमान इन्सुलिन जस्तै वानस्पतिक रसायनलाई मानिएको छ ।

१०. गुडमार

यो औषधि खाएर कुनै पनि गुलियो चिज खाँदा गुलियो चिजको स्वादपट्टकै रहँदैन । यसैले यसको नाम गुडमार राखिएको हो । गुडमार खाएपछि गुलियो वस्तुप्रतिको तृष्णा मेटिन्छ, कारण यसमा विद्यमान गाइनेमिक एसिडले स्वाद ग्रन्थीको गुलियो ग्राहकलाई रोक्छ । गुडमारको सेवनले आन्द्रामा ग्लुकोजको पाचन र अवशोषणलाई पनि सुस्त बनाउँछ भने इन्सुलिनको उत्पादनलाई पनि बढाउँछ । गुडमारको पातको धुलो एक चियाचम्चा बिहान पानीसँग घोलेर खाएको राम्रो हो ।

लेखक भरतपुर–१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट