कान पाक्ने समस्या छ ? यसको उपचारबारे जान्नुहोस्

कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।

विश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि बहिरोपनको प्रमुख कारण कानको संक्रमण (कान पाक्ने) हो, जुन हरेक उमेरका मानिसमा देखिएको छ। कान पाक्ने रोग मुख्य गरी कानको बाहिरी वा मध्यकानको संक्रमणले हुने गर्छ। बाहिरी कानको संक्रमणलाई ओटाइटिस एक्सटर्ना र मध्यकानको संक्रमणलाई ओटाइटिस मेडिया भनिन्छ।

बाहिरी कानको संक्रमण

यो समस्या बाहिरी कानको नलीमा संक्रमण भएर हुने गर्छ जसमा नलीको कुनै सीमित भागमा या पूरै नलीको भागमा संक्रमण हुनसक्छ। यसका अलावा कानमा ढुसीको संक्रमणको कारणले पनि बाहिरी कानको संक्रमण हुनसक्छ। जथाभावी कान कोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ हाल्ने, फोहोर पानीमा नुहाउने वा पौडी खेल्ने र बढी आद्र्रता भएको स्थानमा बसोबास गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।

लक्षणहरु र चिह्नहरुः यस रोगका लक्षणहरुमा कान दुख्नु, कानबाट पिप बग्नु, थोरै मात्रामा सुनाइ कम हुनु, कानको प्वाल वरिवरी सुन्निनु वा रातो हुनु, कान चिलाउनु वा डम्म हुनु आदि हुन्। त्यसैगरी चिकित्सकबाट जाँच गर्दा बाहिरी कानको नली रातो देखिने, कानमा ढुसी पलाएको देखिने र कानको अगाडिको कुरकुरे हड्डी थिच्दा या कान चलाउँदा दुख्ने गर्छ।

रोकथाम र उपचारः बाहिरी कानको समस्याको रोकथामको लागि कान जथाभावी नकोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने, फोहोर पानीमा ननुहाउने वा पौडी नखेल्ने गर्नुपर्छ। त्यसैगरी बाहिरी कानको समस्या देख्ने बित्तिकै प्रायः नाक, कान तथा घाँटी विशेषज्ञ चिकित्सकको सल्लाहमा औषधि सेवन तथा कानमा थोपा औषधि हालेर निको पार्न सकिन्छ।

बाहिरी कानको समस्या प्रायःजसो माथि वर्णन गरेजस्तै हुन्छ। तर कहिलेकाहीँ यो समस्याले गम्भीर रुप लिँदै मुखको नशा, टाउको आदिमा फैलिएर ज्यानलाई खतरा हुने रुप पनि लिन सक्छ र यो समस्या ज्यादै थोरै मात्रामा देखिन्छ। विशेषगरी चिनी रोग, अरु दीर्घरोगी, रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिहरुमा देखिन सक्छ। यस्तो बेला कान ज्यादै दुख्ने, पिप बग्ने, कानमा मासु पलाउने, मुख बांगिने, बान्ता हुने वा टाउको ज्यादै दुख्छ। यस्तो अवस्थामा तुरुन्त विशेषज्ञ चिकित्सकको सम्पर्कमा अस्पताल भर्ना भई औषधि या शल्यक्रियाबाट यसको उपचार गर्नुपर्छ।

मध्यकानको संक्रमण

मध्यकानको संक्रमणलाई छोटो र लामो समयको गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ। यदि कुनै व्यक्तिको कानबाट १५ दिन वा सोभन्दा कम समय पिप आउँछ भने यसलाई छोटो समयको लागि हुने मध्य कानको संक्रमण (एक्युट ओटाइटिस मेडियारएक्युट सुपरयाक्टिभ ओटाइटिस मेडिया) भनिन्छ। यो साधारणतयाः रुघा खोकी लागेपछि प्रायः जसो बच्चामा हुने गर्छ।

लक्षण र चिह्नहरुः यस संक्रमणको मुख्य लक्षण कान दुख्ने, ज्वरो आउने (विशेषगरी बच्चामा), सुनाइ कम हुने र पिप बग्ने (जालीमा प्वाल परेर) हुन्। त्यसैगरी चिकित्सकले जाँच गर्दा कानको जाली रातो भई सुन्निएको र कानको जालीमा प्वाल परेको देखिन्छ। समयमा नै उपचार नभएमा कहिलेकाहीँ संक्रमण फैलिएर मुख बांगिने, बान्ता हुने, टाउको दुख्ने या कानको पछाडि भागमा पिप जमेर सुन्निन पनि सक्छ। यस प्रकारको समस्या भएमा चिकित्सकको सल्लाह अनुसार औषधि लिएमा वा औषधिले निको नभए शल्यक्रिया गर्नुपर्ने हुन्छ।

त्यसैगरी तीन महिना वा सोभन्दा बढी समयदेखि कान पाक्ने समस्या हुन्छ र यसलाई मध्य कानको लामो समयको संक्रमण भनिन्छ। लामो समयको संक्रमण पनि दुई प्रकारको हुन्छ। पहिलो, साधारण मध्य कानको संक्रमण, जसमा नगन्हाउने पिप धेरै बग्ने र बेलाबेलामा निको हुँदै फेरि दोहोरिने गर्छ। यस प्रकारको संक्रमणमा मध्य कानको जालीमा प्वाल पर्ने र सुनाइ कम हुने गर्छ। यो समस्याको उपचारको लागि सर्वप्रथम पिप सुकाउन औषधिको प्रयोग गरी पिप आउन रोकेपछि जाली पुर्नको लागि शल्यक्रिया गरिन्छ। यस शल्यक्रियालाई माइरिङ्गोप्लास्टी भनिन्छ। यो शल्यक्रियाको उद्देश्य कानबाट पिप आउन बन्द गर्नु र सुन्न सक्ने शक्तिलाई राम्रो पार्नु हो।

दोस्रो, जटिल प्रकारको मध्य कानको संक्रमण, जसमा गन्हाउने, थोरै पिप बग्ने र कहिलेकाहीँ रगत मिसिएको पिप समेत बग्ने गर्छ। यसमा मध्य कान तथा मध्य कानको हड्डीमा जटिल समस्या देखिन्छ। यो संक्रमण मध्य कानमा मात्र सीमित रहेमा पिप बग्ने र सुनाइ कम हुने गर्छ भने समस्या जटिल हुँदै गएमा संक्रमण कानको वरिपरि फैलिएर जानसक्छ।

जसमा रिंगटा लाग्ने, मुख बाङ्गो हुने, कानको पछाडि सुन्निने, भित्री कानमा संक्रमण फैलने र दिमागमा पिप जम्ने जस्ता जटिल समस्या हुनसक्छ। मध्य कानको जटिल समस्याको उपचार शीघ्र शल्यक्रियाबाट मात्र सम्भव छ, जसलाई मोडिफाइड ¥योडिकल माइस्टोडेक्टोमी (एमआरएम) भनिन्छ। यो शल्यक्रियाको मुख्य उद्देश्य कानको संक्रमण अन्यत्र फैलनबाट रोक्नु हो।

रोकथाम र उपचार : मध्य कानको कान पाक्ने रोगको रोकथामका लागि कान जथाभावी नकोट्याउने, कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने, विशेषगरी बच्चामा बेलाबेलामा रुघाखोकी लागेमा सतर्कता अपनाउने, आमाले बच्चालाई सुताएर स्तनपान नगराउने, सरसफाइ र पौष्टिक आहारमा ध्यान दिने, कानबाट पिप बगिरहने व्यक्तिले नुहाउँदा कपासमा भ्यासलिन मल्हम वा खाने तेल हाली निचोरेको कपासले कान बन्द गरी स्नान गर्ने, नाक, कान तथा घाँटी विशेषज्ञको परामर्शमा मात्र कानमा औषधि प्रयोग गर्ने र समस्या हुनासाथ विशेषज्ञ चिकित्सकको परामर्श लिने गर्नुपर्छ।

मानव शरीरको इन्द्रीयहरुमध्येको एक महत्वपूर्ण इन्द्रीय कानको उचित स्याहार गरी संक्रमण हुनबाट बचाउनु र संक्रमण हुन गएमा नाक, कान तथा घाँटी विशेषज्ञ चिकित्सकको सल्लाह लिई समयमा उपचार गर्नुपर्छ। (डा. राणा नाक, कान तथा घाँटी विशेषज्ञ हुन्।)

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट