यसकारण घातक हुनसक्छ बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दा

अष्ट्रेलियाकी १८ वर्षीया एक युवतीले आफ्नै आमा–बाबुविरुद्ध मुद्दा हालिन्। आफूलाई नसोधेर आफ्नो बाल्यकालको फोटो फेसबुकमा राखेको उनको आरोप थियो। उनले सेप्टेम्बर २०१६ मा दायर गरेको मुद्दाका कारण अष्ट्रेलियाको कानुन नै बदल्नुपर्‍यो।

मुद्धामा उनले भनेकी छन्, ‘सन् २००९ मा म ९ वर्षकी हुँदा मेरा बाबुआमाले फेसबुकमा पाँच सय ओटा फोटो राखे। ती फोटो उहाँहरुका सात सय साथीले हेरेका थिए। फोटोकै कारण मेरो जीवन भद्रगोल भयो।’

ती फाटो उनी शौचालयमा बसेको, नाङ्गै रोइरहेको लगायत थिए। उनले भनेकी छन्, ‘फोटो राख्दा उनीहरुलाई लाजशरमबारे थाहा थिएन र? ती फोटो दुनियाँलाई देखाउन हुँदैन थियो।’

युवतीका बाबुले भने आफूले पारिवारिक एल्बम सुन्दर बनाउन त्यसो गरेको बताएका थिए। पारिवारिक फोटो सार्वजनिक गर्न पाउनु आफ्नो अधिकार भएको पनि उनले दाबी गरेका थिए।

तर, अदालतले युवतीको पक्षमा फैसला गरिदियो। आमा–बाबुले छोरीलाई निकै ठूलो रकम क्षतिपूर्ति दिनुपर्‍यो। यो घटनापछि फ्रान्स र जर्मनीले अनलाइन नीतिलाई थप कडा बनाए। बालबालिकाले अभिभावकविरुद्ध मुद्धा हाल्न पाउने कानुन पनि बनाए।

सन् २०१६ मा भाइरल भएको बालकको उक्त भिडियो अहिले पनि नेपाली युट्युबरले मेमका रुपमा प्रयोग गर्दै आएका छन्। सानो उमेरमा बोलेका कुरा उसलाई थाहै नदिइ खिचेर सामाजिक सञ्जालमा भाइरल गराउँदा बालकमा कस्तो मनोवैज्ञानिक असर पर्ला? ऊ ठूलो भएपछि त्यस्ता सामग्रीले कस्तो असर गर्ला? यसतर्फ ध्यान गएको पाइँदैन।

करीब पाँच वर्षअघि सामाजिक सञ्जालमा एउटा सानो नेपाली बालकको भिडियो भाइरल भयो। भिडियोमा बालकले नराम्रा शब्द प्रयोग गर्दै आफ्नी दिदीलाई गाली गरेका छन्। अभिभावक भने मस्तले हाँसिरहेको सुन्न सकिन्छ।

सामाजिक सञ्जालमा बालबालिकाको भिडियो राख्ने क्रम बढ्दै गएको छ। उनीहरुले नराम्रा शब्दले गाली गरेको, आमा–बाबुसँग झगडा गरेको, विद्यालय नजान बहाना बनाएर रोएको जस्ता भिडियो हालिएका छन्। कतिपयले त ‘मायालुले धोका दिएको’ भन्दै रुन लगाएर बनाएको भिडियोमा मेम हुनेगरेका छन्। कतिपय युट्युबरले ‘भ्युज’ बढाउन बाटो छेकेरै अनावश्यक प्रश्न गरेका भिडियो पनि देख्न पाइन्छ।

यस्ता भिडियोले बालबालिकामा नकारात्मक छाप पर्ने बाल मनोविद् गंगा पाठक बताउँछिन्। उनको चिनजानको परिवारले छोराको आठौं जन्मदिन मनाएको थियो। सो अवसरमा चिकित्सकको कपडा लगाइदिएर ‘भविष्यको डाक्टर’ भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरे। पाठक भन्छिन्, ‘फोटो हेर्दा त बडो सकारात्मक छ, तर यसले भविष्यमा कस्तो असर पुग्छ भन्ने विचार गरेनन्।’

बालबालिकाले सामाजिक सञ्जाल नचलाए पनि चिनेजानेका मानिसले त्यस्ता फोटो हेरेर उनीहरुलाई मौखिक दबाब दिन सुरु गर्छन्। कतिपयले जिस्क्याउन थाल्छन्। कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ। ‘फियर एन्जाइटी’को समस्या हुन्छ। यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ।

पाठकसँग अर्को पनि उदाहरण छ। उनको छिमेकमा जुम्ल्याहा बालक छन्। एकदिन उनीहरुले लुगा च्याताच्यात गर्ने गरी झगडा गरेछन्। ती बालकका अभिभावकले छुट्याउनुको सट्टा भिडियो खिचेर बसेछन्। अनि सामाजिक सञ्जालमा ‘मेरा वीरहरुको आपसी लडाइँ’ भन्दै पोष्ट गरे।

यस्ता भिडियोले बालबालिकाको आत्मसम्मानमा ठेस पुग्ने पाठकको भनाइ छ। उनी भन्छिन्, ‘बालबालिका अभिभावकको रमाइलो गर्ने साधन हैनन्। यस्ता गतिविधी गम्भीर अपराध हुन्। तर, राज्यले वास्ता नगर्दा धेरै बालबालिका आफ्नै अभिभावकबाट पीडित बनेका छन्।’

सामाजिक सञ्जालमा बालबालिकाको फोटो र भिडियो राख्दा ती सामग्री दुरुपयोग हुने खतरा पनि हुन्छ। फोटोसपबाट त्यस्ता फोटो बिगारी गलत तरिकाले प्रयोग गर्ने खतरा पनि हुन्छ।

यसका साथै बालबालिकाको ‘डिजिटल अपहरण’ हुने डर पनि हुनसक्छ। फेसबुक, इन्ष्टाग्राम, टिकटक लगायतमा बालबालिकाको फोटो अभिभावक स्वयले पोष्ट गरिरहेका हुन्छन्। त्यसैको आधारमा आपराधिक मानसिकता भएकाले बालबालिकालाई अपहरण गर्नसक्छन्। यसलाई बुझिने भाषामा ‘डिजिटल किडन्यापिङ’ भनिएको छ।

डिजिटल अपहरणमा अरु कसैको बालबालिकालाई आफ्नो बालबालिका भनेर पोर्न साइटमा पोष्ट गरिन्छ। त्यस्तै बालबालिकाको सम्पूर्ण सूचनासहित सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा शारीरिक रुपमै पनि अपहरणमा पर्नसक्छन्। उनीहरुको रुचि सामाजिक सञ्जालबाट थाहा पाएर अपहरणकारीले फकाउन सक्छ।

बालबालिका कसैको पनि मनोरञ्जनका साधन होइनन्। उनीहरुबारे सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमा अनावश्यक सामग्री पोष्ट गर्नु अपराध हो।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट