सर्पले टोकेर प्रधानाध्यापकको मृत्यु

सर्पको टोकाइले विध्यालयका प्रधानध्यापकको ज्यान गएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको मृत्यु भएको हो ।

सर्पले टोकेको थाहा पाएपछि श्रेष्ठ आफै मोटरसाइकल चलाएर सर्पदंश उपचार केन्द्र बर्दिबासस्थित गौरिडाँडामा पुगेका थिए । ‘उहाँ सामान्य अवस्थामा आउनुभएको थियो, सर्पले टोक्यो भन्नुभयो । हामीले हेर्दा पछाडि ढाडमा र घाँटीनेर डसेको रहेछ,’ उपचारमा संग्लन चिकित्सक इन्द्र केसीले भने ।

उपचारको क्रममा श्रेष्ठलाई राति झन्डै १२ बजे स्वासप्रस्वासमा निक्कै अफ्ठ्यारो परेपछि जनकपुर प्रादेशिक अस्पतालमा पठाउने तयारी गर्दागर्दै निधन भएको सर्पदंश उपचार केन्द्र गौरिडाँडाले जनाएको छ ।

स्वासप्रस्वासमा निक्कै गाह्राे भएपछि हामीले स्टेचरमा हालेर एम्बुलेन्समा हाल्ने तयारी गर्दै थियौ । तर स्टेचरमै स्वासप्रस्वास बन्द भइसकेको थियो,’ चिकित्सक केसीले भने, ‘यदि भेन्टिलेटर भएको भए उहाँको ज्यान जोगिन्थ्यो ।

सर्पले टोकेका बिरामीहरूको स्वासप्रस्वासमा समस्या पर्ने हुँदा सर्पदंश उपचार केन्द्र गौरिडाँडामा भेन्टिलेटरको माग हुँदै आएको छ । तर स्थानीय सरकार र सरोकारवाला निकायको मौनताले साँध्दै आएका छन् ।

उपचार केन्द्रको तथ्यांकअनुसार पाँच वर्षभित्र नाै सय ८० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भए । यस वर्ष मात्र ३० भन्दा बढी मानिस उपचारका लागि भर्ना भएको केन्द्रको तथ्यांक छ । उपचारका लागि आउनेमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको सर्पदंश उपचार केन्द्र बर्दिवासका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक हजारभन्दा बढीले सर्पको टोकाइबाट ज्यान गुमाउँदै आएका छन् । सर्पको उच्च जोखिम रहेको तराईको २३ जिल्लामध्ये महोत्तरी अति संवेदनशील मानिन्छ।

Post a Comment

Previous Post Next Post