अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भए पछि ...

स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने थाहा भए पनि धेरैजसो जान खोज्दैनन्, लामो समयसम्म बेथा लाग्दा आमा र शिशुको ज्यान जोखिममा पर्ने गरेको छ।

मुगु‚ वीरेन्द्रनगर‚ रुकुम पश्चिम — मुगुको खत्याड–३ रोलका ५६ वर्षीय दृष्टिविहीन कल्से नेपालीकी ४१ वर्षीया श्रीमती जौकलालाई शुक्रबार बिहान ५ बजेतिर सुत्केरी बेथा लाग्यो । गमगढीमा बस्दै आएका उनले गर्भवती पत्नीलाई हिँडाएरै जिल्ला अस्पताल लैजान खोजे । पुग्न नभ्याउँदै जौकलाले अदालत चोकको सडकमै बच्चा जन्माइन् ।

गमगढीस्थित सार्वजनिक जग्गामा एककोठे टहरो बनाएर बसिरहेका उनी बाटोमा गीत गाएर माग्दै परिवारको गुजारा चलाउँछन् । १६ वर्षको उमेरमा दुवै आँखा बन्द भएका उनले भगवान्सँग श्रीमतीको अवस्था छिट्टै सामान्य होस् भनेर कामना गरेको बताए ।

जौकलाको पहिलो गर्भ तुहिएको थियो भने दोस्रो सन्तानका रूपमा छोरा जन्मिए पनि एक महिना नपुग्दै बान्ता भएर मृत्यु भएको थियो । तेस्रो पटक ६ वर्षअघि छोरी जन्माएकी उनले अहिले पनि छोरीलाई जन्म दिइन् ।बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने जौकला एक्ली होइनन् ।

कर्णाली प्रदेशमा हरेक महिनाजसो यस्ता घटना बाहिर आउँछन्, जसले समग्र प्रदेशको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गर्छन् । रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साताको एउटा बिहान सुत्केरी बेथाले च्याप्यो ।

आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट पुर्‍याए । त्यहाँ सुत्केरी गराउन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजान भन्यो । लैजाँदै गर्दा चौरजहारी–३ दमारनजिकैको सडकमा उनी सुत्केरी भइन् ।

उनको पहिलो गर्भ भएकाले हामी नर्मल डेलिभरी गराउने तयारीमा थियौं,’ आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा खड्काले भनिन्, ‘बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेका थिए, त्यसपछि क्रमशः १० वटै घर त खुले तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएछ ।’

Post a Comment

Previous Post Next Post